मध्यपुर थिमिको संस्कृतिमा सरकारी दमन

मध्यपुर थिमिको संस्कृतिमा सरकारी दमन

केके मानन्धर

मध्यपुर थिमिको ऐतिहासिक र धार्मिक महत्व बोकेको खड्ग जात्रामा सरकारी दमनको प्रयास भएको छ । जात्राको लागि आवश्यक हुने बजेट निकासा नगरेर संस्कृति लोप गराउने नियोजित प्रयास भएको हो । विजया दशमीको भोलि पल्ट अर्थात एकादशीको बिहान निकालिने खड्ग जात्रा, बजेट अभावले प्रभावित भएको तलेजुका पूजारी हरिमान कर्माचार्यले बताउनु भयो । “यस्तै अवस्था रहे, अन्य जात्रा पर्व समेत लोप हुन्छ” पूजारी कर्माचार्यको भनाइ थियो । खड्ग जात्रा (खाँ पिहाँवइगु, स्थानिय भाषामा) प्रभावित भएकोमा स्थानियबासीले समेत आपत्ती जनाएको छ । हरेक वर्ष अर्थ मन्त्रालय अन्तर्गतको मालपोत कार्यालयबाट जात्रा पर्वको लागि आवश्यक बजेट निकासा हुंदै आएकोमा यस वर्ष यस्तो हुन सकेन । जसको कारणले, इतिहास मै पहिलो पल्ट दरबार परिसरको तलेजुमा बली पूजा रोकिएको छ । परापूर्व कालदेखि हुंदै आएको पूजा तथा जात्रा प्रभावित हुनुमा सरकारी पक्ष दोषी भएको स्थानियको आरोप छ । गएको केहि वर्ष अगाडि समेत काठमाडौंको इन्द्रजात्रामा बजेट निकासा रोकिएर जात्रा प्रभावित भएको थियो ।

जात्रा परिचय
मल्लकालिन अवस्थाबाट शुरु भएको खड्ग जात्रालाई स्थानिय भाषामा खाँ पिहाँवइगु जात्रा भनिन्छ । तात्कालिन युद्ध कला प्रदर्शनी जस्तो लाग्ने यस जात्रामा दरबारसँग सम्बन्धित नेवारहरुको संलग्नता छ । श्रेष्ठ समुदाय भित्रका प:मा:, प्वात्या र प्रजापति समुदायका फाकु, प्याथ:लगायतको प्रत्यक्ष संलग्नतामा जात्रा सम्पन्न गरिन्छ । मध्यपुर थिमि नगरपालिका अन्तर्गत वडा नं. १२ को लाय्कू दरबार परिसरबाट शुरु गरिने खड्ग जात्रामा जामाचो (युद्धक पोशाक) लगाएर ढाल तरबार बोकेका, युद्ध शुरु गरिंदा फुक्ने बिगुल फुक्दै हिंड्ने, देवता बोक्नेलगायतका सम्बन्धितहरुको जात्रामा सहभागिता रहन्छ । थिमिको पुरानो शहरको रुपमा लिइने वडा नं. ११ अन्तर्गतको दिगुटोल देखि बालकुमारी परिसर सम्म जात्रा गरिन्छ । लाय्कू दरबारबाट शुरु हुने जात्रा पुरानो नेवार बस्तीको उत्तरतीरको इनाएटोल, दुइपोखरी हुंदै दिगुटोल सम्म पुग्दछ भने सो ठाउँबाट फर्केर दक्षिणतीरको दथुटोल, मरुटोल हुंदै बालकुमारी मन्दिर परिसर सम्म जात्रा गरिन्छ । जात्रा गरि लगेको कुभिण्डोलाई मन्दिर अगाडिको ढुङ्गामा राखेर खड्गले मार हान्ने गरिन्छ । र सो कुभिण्डोको टुक्रा लिन स्थानियबासीको तछाडमछाड हुन्छ । जात्रा गरि मार हानिएको कुभिण्डोको टुक्रा खाँदा पेट सम्बन्धिको रोग निदान हुन्छ भन्ने जनविश्वास छ । मध्यपुर थिमिमा खड्ग जात्राको रुपमा स्वीकार गरिएको जात्रालाई काठमाडौंमा पायो जात्राको रुपमा मनाइन्छ ।