मध्यपुर थिमिका संजय श्रेष्ठले खिचेको तस्वीरले कोशीटप्पुमा नयाँ प्रजातिको चरा फेला परेको प्रमाणित

मध्यपुर थिमिका संजय श्रेष्ठले खिचेको तस्वीरले कोशीटप्पुमा नयाँ प्रजातिको चरा फेला परेको प्रमाणित

कोशीटप्पु वन्यजन्तु आरक्षमा विश्वमै दुर्लभ मानिने एक नयाँ प्रजातिको चरा फेला परेको छ । मध्यपुर थिमिका संजय था श्रेष्ठले खिचेको फोटोको आधारमा  यो पुष्टि भएको छ । श्रेष्ठले माघ ९ गते उक्त चरा देखेर तस्बिर खिचेका थिए । 

फेला पारेको नयाँ चराको नाम ‘सेतो पेटे रानी चरी’ जुराइएको छ । कोसीटप्पु बर्ड वाचिङ क्याम्पका सञ्चालक कुरबान मन्सुरीका अनुसार ‘सेतो पेटे रानी चरी’ चराको दुर्लभ प्रजाति हो । यसको टाउको वरपर खैरो, पेट सेतो र पछाडिको भाग कालो छ । यसको अंग्रेजी नाम Swinhoe Minivet हो । 


उक्त चरा नयाँ प्रजातिको हुन सक्ने अनुमानपछि प्रमाणीकरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौं पठाइएको थियो । श्रेष्ठले खिचेको चरा नेपालका लागि नयाँ भनेर विभागले प्रमाणित गरेको हो । चरा विज्ञहरूले प्रमाणित गरेपछि विश्वमै दुर्लभ मानिएको चरा कोशीटप्पुमा पाईएको बताइएको हो । पक्षी संरक्षण संघले उक्त चरा कोसीटप्पुको नयाँ पाहुना भएको यकिन गरेको हो । योसँगै कोशी टप्पुमा पाइने चरा प्रजातिको संख्या ५ सय २७ पुगेको छ । 

कोसीटप्पुमा हरेक वर्ष चरा गणना हुँदै आएको छ । यस वर्ष २५–२९ पुसमा पनि गणना गरिएको थियो । त्यसक्रममा उक्त नयाँ प्रजाति भेटिएको थिएन । आरक्षका वार्डेन रामदेव चौधरीका अनुसार चीन, रुस, पाकिस्तान, बंगलादेश, भारत र भुटानबाट कोसीटप्पुमा चरा आउने गर्छन् । नेपालमा पाइने आठ सय ८६ प्रजातिमध्ये ५९ प्रतिशत चरा कोसीटप्पुमा पाइन्छन् ।