मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ सम्मानित

मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ सम्मानित

संस्कृति संरक्षण र संवर्धनमा विशिष्ट योगदान गर्दै प्रख्यात बनेका मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ थिमिमा सम्मानित भएका छन् । विकास र संस्कृति क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका श्रेष्ठलाई दबुलि नेपाल नामक संस्थाले शनिवार एक कार्यक्रम सहित सम्मान गरेको हो । कार्यक्रम अघि मेयर श्रेष्ठलाई धिमेबाजा पदयात्रा सहित थिमि परिक्रमा गराइएको थियो ।

कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले आफ्नो कार्यावधिमा ४५ वटा मन्दिर, ४२ वटा पार्टी पौवा, १७ वटा पोखरी, २७ वटा ढुंगेधारा, ३ वटा दरवार र ५ वटा बौद्ध विहार पुर्ननिर्माण भएको बताए । यही कार्यकुशलताको मूल्यांकन गर्दै एक स्वतन्त्र अध्ययनले नेपाल अधिराज्य भरका मेयरहरुमध्ये उनलाई तेश्रो सर्वोकृष्ट मेयरको सूचीमा राखेका छन् । गत वर्ष मात्र उनी युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयबाट एसिएन टाउनस्केप अवार्ड पनि सम्मानित भएका थिए ।

बाह्र हाते बेताली (फेटा) र अभिनन्दन पत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि संस्कृति शिरोमणि हरिराम जोशीले भक्तपुर जन्मभूमि हो भने मध्यपुर थिमि कर्मभूमि हो भनी मध्यपुर थिमिका जनताहरु अत्यन्त मेहनति भएको बताए ।

कार्यक्रमको शुरुवात दबुलि नेपालका सचिव सुरेन्द्रविक्रम प्रजापतिको स्वागत मन्तव्यबाट भएको थियो । उनले दबुलि नेपालले हालसम्म गर्दै आएका कार्यक्रमहरुको संक्षिप्त जानकारी दिएका थिए । तत्पश्चात दबुलि नेपालले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र मध्यपुर थिमि नगरपालिकाको सहयोगमा निर्माण गरेको मुहालि बाजा वृत्तचित्रको लोकार्पण तथा प्रदर्शन गरिएको थियो । सोही कार्यक्रममा नेपालभाषा ख्यालः विधामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका आशाकाजी थकु, अन्न्पूर्णेश्वरी श्रेष्ठ र अशोककुमार बस्नेतलाई जनही दश हजार नगद सहित तेजकुष्ण नानीमाया स्मृति पुरस्कार द्वारा सम्मानित गरिएको थियो भने नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूका नवनिर्वाचित अध्यक्ष पवित्र वज्राचार्यलाई पनि बधाई ज्ञापन तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा पत्रकार सुरेश किरण, संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति नारायण कृष्ण श्रेष्ठ रायन, दबुलिका संस्थापक डा. सुभाषराम प्रजापति, दबुलि नेपालका अध्यक्ष सन्तोष प्रजापति, नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्य लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।