थिमिको भुइफसि जात्रा सम्पन्न

थिमिको भुइफसि जात्रा सम्पन्न

विजयादशमीको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध भुइफसि (कुभिण्डे) जात्रा आज सम्पन्न भएको छ। स्थानिय नेवार भाषामा ‘खां पिहां वइगु’ भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु भएको थियो। कुभिण्डेजात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजू दसैंघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बली दिने परम्परा रहिआएको छ।

नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो।
एकादशीका दिन आज तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहितको संलग्नतामा जात्रा सम्पन्न गरिएको हो।
बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा) ले कुभिण्डो काटेका थिए। कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहिआएको छ। रासस