लायकु दरबारकी देवी : बालकुमारी

लायकु दरबारकी देवी : बालकुमारी

खिमानन्द आचार्य

ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्व राख्ने सबैभन्दा सानो जिल्ला भक्तपुरमा मल्ल कालमा निर्माण भएको त्रिपुरादरबार त्यस समयको महत्वपूर्ण दरबार हो । राजा जितामित्र र भूपतिन्द्र मल्लको विशेष प्रयासबाट सुन्दर बन्न पुगेको यस भक्तपुर शहरबाट ४।८ किलोमीटर पश्चिममा थिमि शहर अवस्थित छ । जुन हाल मध्यपुर थिमी नगरपालिका बन्न पुगेको यस शहरको बीचमा उक्त नगरवासीहरुको आस्था र धरोहरको रुपमा बालकुमारीको मन्दिर रहेको छ । यहाँ यसैबारे चर्चा गरौं ।
यहाँ हरेक वर्ष बालकुमारीको जात्रा लाग्दछ जुन वैशाख संक्रान्तिको दिन र त्यसको भोलिपल्टसम्म हुन्छ । उक्त जात्रामा श्री बालकुमारी श्री सिद्धिकाली श्री दक्षिण बाराही श्री हरिसिद्धि श्री महालक्ष्मी श्री नारायण र टोल-टोलका गणेश देवताहरु गरी ३२ देवताहरुलाई उक्त शहरमा परिक्रमा गराइन्छ । जसलाई मध्यपुर थिमिको जात्रा भनिन्छ ।
वैशाख संक्रान्तिको दिन लायकु दरबारमा राखिएको श्री बालकुमारी देवीलाई बाहिर ल्याई पूजा-आजा गरिन्छ । र त्यस समयमा थिमि शहरमा भोजको आयोजना पनि गर्ने गरिन्छ । राति ९-१० बजेतिर लायकु दरबारमा बालकुमारी देवीसँग अन्य देवता राख्नको लागि बाजा-गाजा सहित ल्याउने काम हुन्छ । त्यो रात रसिक गीत गाउने र देवी देवताको बाद्य बादनद्वारा देवताको आराधना गर्ने प्रचलन रहेको छ ।

वैशाख २ गतेका दिन श्री बालकुमारी देवीको खटसँगै नगदेशका श्री गणेश त्यहाँ ल्याइसकेपछि ३२ देवताका खटहरु सबै पंक्ति मिलाएर जात्रा शुरु हुन्छ । सबै खटहरुमा चिराग बाली झल्लरसहितका छाताहरु ओढाएर जात्रा गरिन्छ । उक्त दिन जात्रुहरुले फुस्रो सिन्दुरको होली लेख्ने गर्दछन् । यो जात्रा श्री बालकुमारी स्थानबाट शुरु भई थिमिको दूध पोखरीलाई प्रदक्षिणा गराई लायकु राजदरबारमा देवताहरु भित्याउने काम हुन्छ । बाँकी देवताहरु आ-आफ्नो स्थानमा लगेर राखेपछि जात्रा समाप्त हुन्छ ।

थिमिदेखि उत्तरतर्फ बोडे शहरमा जिब्रो छेड्ने जात्रा हुन्छ । जिभ्रो छेड्ने मानिस ३४ दिनदेखि शुद्ध हुनु पर्दछ जसमा विशेष गरी ठूला खानदानका मानिसहरुले मात्र गर्न पाउँछन् । यस उपलक्ष्यमा भोज खुवाउनु पर्ने चलन छ । परापूर्व कालमा उक्त शहरमा दैत्यहरुले दुःख दिएका हुँदा दुःखबाट मुक्त गर्न तान्त्रिक विद्यामा निपुर्ण भएका व्यक्तिलाई दर्शन भई एक जना मानिस बोलाई सुइरोले जिब्रो छेडेर शहर परिक्रमा गर्दा दैत्यहरु त्यो पराक्रम देखेर भाग्ने छन् भनी श्री बालकुमारीबाट आदेश भएको हुनाले त्यहाँ त्यसो गरिएको भन्ने किम्बदन्ति रहेको पाइन्छ ।

 

राजा नरेन्द्र देवले आफ्नो कान्छो छोरा बलदेवलाई थिमी देशको दरबारमा राखेका हुनाले त्यही पुरानो लायकु दरबारमा आजपनि श्री बालकुमारी देवीको मूल स्थान मानिन्छ । श्री ५ को सरकारले मिति २०५३ चैत १८ गते ५ वटा गा।वि।स।लाई मिलाएर मध्यपुर थिमि नगरपालिका घोषणा गरेपछि उक्त स्थान नगरपालिकाको धरोहर हुन पुगेको छ ।

उपत्यका बासीहरुले धार्मिक आस्था अनुरुप ४ गणेश ४ काली ४ कुमारी ४ बाराही ४ महालक्ष्मी ४ गंगालाई पुज्दै आएको पाइन्छ । त्यसमध्ये एक कुमारी बाराही र महालक्ष्मी यस नगरभित्र पर्दछन् । तिनै ४ कुमारी मध्ये हुन बालकुमारी । अन्य ३ बालकुमारीको मन्दिर बालकुमारी – कुमार डोल पन्चबालकुमारी मैतिदेवी बलकुमारी – क्वाछें पाटनमा पर्दछ ।

मध्यपुर थिमि नगरपालिकाको वडा नं। १४ मा अवस्थित करीब ३०० वर्ष पुरानो मानिएको उक्त मन्दिरमा पुजारीको व्यवस्था नभए पनि स्थानीय जनताद्वारा नित्य पूजा-आजा हुन्छ । पहिले उक्त मन्दिरमा चढाइने बली व्यवस्थाको लागि २० रोपनी जग्गा भएकोमा हाल ती जग्गा रैतानीमा परिणत भएका हुनाले केही रकम गुठी संस्थानले उपलब्ध गराउने गरेको छ । उक्त मन्दिरमा सँुगुरको पाठो बली चढाइन्छ । त्यस्तै करीब २५ फिट उचाईको स्तम्भ रहेको मयूरलाई श्री बालकुमारी देवीको बाहान मानिएको पाइन्छ । भजन कृतनको लागि डबलीको निर्माण भएको छ भने मन्दिरको पश्चिमपट्टि पोखरी पूर्वपट्टि महादेव र कृष्णको मन्दिर उत्तर पट्टि भैरवको मन्दिरका साथै मन्दिर परिसरमा विभिन्न आकारका अष्ठमातृका रहेका छन् ।