प्याखंमय थिमि

प्याखंमय थिमि

ऐतिहासिक पर्व गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीयाको दिनदेखि मध्यपुर थिमि धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक पृष्ठभूमि बोकेका मल्लकालीन नाच (प्याखं) मय बनेको छ ।

बोडेमा नीलबाराही नाच, नगदेशमा महाकाली, लायू, बालकुमारीलगायत स्थानमा भैलः (भैरव) नाच, इन्द्र अप्सरा लगायत नाच (प्याखं) प्रदर्शन भएका छन् ।

भाद्र कृष्ण द्वितीयाको दिन बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छें, विष्णुघाट, महालक्ष्मी थान, भांगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनःनारायणथानमा प्रदर्शन गरिने ऐतिहासिक नीलबाराही नाच धां बाजा, भुस्या, काँय, बौचा, ताँ, कोटा र पोङ्गा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउन प्रचलन छ ।

नीलबाराही प्याखंमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ देवगण रहने धाँ बाजा वादक श्रीकृष्ण खम्बु श्रेष्ठले बताए । नीलबाराही नाचमा ६ गुरु, १९ देवताका सहयोगी, पोङ्गा बाजा बजाउने १५ लगायतका विभिन्न सहयोगीहरूसहित एक सयभन्दा बढी संलग्न हुने उनले बताए ।

नीलबाराही प्याँख प्रदर्शन सुरु भएपछि दैनिक १० देखि १४ घण्टासम्म परम्परागत नियममा बाँधिएर टोलटोलमा गई नाच्नुपर्ने स्थानीय जुजुभाइ बाँस श्रेष्ठले बताए । मल्लकालीन नीलबाराही प्याँखको ऐतिहासिक पृष्ठभूमि त्यति प्रस्ट नभए पनि नीलबाराही देवीले एक दिन बोडेमा आएर स्थानीय धों थरका एक व्यक्तिलाई नीलबाराही जंगलमा लगेर चार दिनसम्म कसैले नदेख्ने गरी राखी नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाए सुरु भएको किम्बदन्ती रहेको स्थानीय बताउँछन् । प्याँख अवधिभर देवगणले खान, बस्न, बोल्न, घामपानीमा छाता ओड्न नहुने, दिसापिसाब गर्न र जुत्ता लगाउन नहुने नियम छ । नीलबाराही प्याँख प्रदर्शन गरेपछि मुलुकमा शान्ति, सद्भाव बढ्ने र अनिष्ट नहुने मान्यता छ ।

मध्यपुर थिमि नगदेशमा मल्लकालीन महाकाली नाच (प्याखं) प्रदर्शन भएको छ । भाद्र कृष्ण द्वितीयाको साँझबाट सुरु भएको महाकाली नाच भाद्र कृष्ण पञ्चमी राति सम्पन्न हुन्छ । आर्थिक अभावका कारण २०६६ देखि प्रदर्शन हुन नसकेको महाकाली नाच तीन वर्षयता नियमित प्रदर्शन भइरहेको छ ।

स्थानीय युवा, बुद्धिजीवि, संस्कृतिप्रेमी, स्थानीय संघसंस्थाको सहयोगमा महाकाली नाच प्रदर्शन गरिएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजूले बताए । महाकाली नाचमा महाकाली एक, महालक्ष्मी एक, कौमारी एक, सिंह एक, बेताल चार, भूत भैरव दुई, कवं दुई, ख्याक दुई, माकः (बाँदर) दुई, महिसासुर दैत्य एक गरी १८ नर्तक रहेका छन् । (तश्वीर – प्रनिशन राजभण्डारी)