थिमिको माटोमा मिथिला रङ

थिमिको माटोमा मिथिला रङ

थिमीकी दिलमाया प्रजापति माटो मुस्छिन्। धनुषाकी सरिता मण्डल रङ घोल्छिन्। प्रजापति कुमालेको चक्र घुमाउँदै माटोलाई आकार दिन्छिन्। त्यही आकृतिमा मण्डल मिथिला चित्र कोर्छिन्। भक्तपुरको थिमीमा दुई दसकदेखि यी दुईले आआफ्नो सीपलाई ‘फ्युजन’ गर्दै आकर्षक सामग्री तयार गर्दैछन्। ‘सामान्यता यो १० रुपैयाँमा बिक्री हुन्छ,’ मिथिला आकृति कोरिएको ‘टि-पट’ देखाउँदै दिलमायाले भनिन्, ‘यो अहिले एक सयसम्ममा बिक्री हुन्छ।’

माटोको भाँडामा मिथिला आकृति कोरिएपछि यसको माग विदेशमा समेत हुन थालेको उनले सुनाइन्। ‘जापान लगायत देशमा यी सामग्री निर्यात हुने गरेको छ,’ उनले थपिन्, ‘यसको आम्दानीले दुवै परिवारलाई खुसी दिएको छ।’

माटोको भाँडोमा मिथिला चित्र कोरेबापत मण्डल परिवारले प्रति गोटाका दरमा पैसा लिँदै आएको छ। ‘हामी सन्तुष्ट छौं,’ सरिताले सुनाइन्, ‘हाम्रो कला पनि विकास भएको छ, आम्दानी पनि भएको छ।’ आम्दानीबाट उनले आफ्ना दुई छोरालाई नजिकैको निजी स्कुलमा पढाउँदैछिन्।

परम्परागत पेसालाई आधुनिकीकरण गर्दा आम्दानी राम्रो भएको दिलमायाका श्रीमान लक्ष्मी प्रजापतीले सुनाए। माटोको भाँडामा मिथिला आकृति कोरेपछि त्यसलाई ‘ग्यालेज’ गरेर भट्टीमा पोलेपछि सामग्री तयार हुने उनले सुनाए। ‘यसरी हामी माटोकै डिनर प्लेट, सुप बल, टि सेट तयार गर्दै आएका छौं,’ उनले भने, ‘व्यापारी घरमै आएर यी सामान लैजान्छन्।’
एभरेस्ट सेरामिक सेन्टर नामक पसल खोलेका उनले अन्यभन्दा मिथिला चित्र कोरिएका सामग्रीको माग बढेको सुनाए।

सरिताका पति लक्ष्मण मण्डल मिथिला कलाकृतिले बजार पाएकोमा खुसी छन्। ‘भक्तपुर माटोको भाँडाका लागि प्रसिद्ध अनि जनकपुर मिथिला कलाका लागि,’ उनले हाँस्दै भने, ‘दुवै मिलेपछि झनै राम्रो सिर्जना भएको छ।’ मिथिला कलाको प्रचारमा समेत लागेका लक्ष्मणले थिमीमै मिथिला चित्रकलाको तालिम दिन थालेका छन्। ‘भक्तपुरका नेवार महिला तालिम लिँदैछन्,’ उनले भने, ‘बिस्तारै सीप विस्तार हुँदैछ।’

– उपेन्द्र लामिछाने, नागरिक