थिमि नै उठेको दिन

थिमि नै उठेको दिन

रमेशकाजी स्थापित

नेपाल संवत् ११०० नयाँ वर्ष अर्थात् वि.सं. २०३६ सालको म्हपुजा पर्वको दिन मेरा लागि अविस्मरणीय दिन रह्यो, किनकि त्यो दिन थिमि नगर नै जुरुक्क उठेको प्रत्यक्ष अनुभव मलाई भएको थियो । त्यो साल काठमाडौंको केलटोलस्थित संस्था ‘लय्‌ता दबू’को आयोजनामा पहिलोपल्ट उपत्यका व्यापी ‘भिंतुना मोटरसाइकल र्‍याली’ को आयोजना गरिएको थियो । र्‍यालीमा ३ सयभन्दा बढी संख्यामा मोटरसाइकल सम्मिलित भएको थियो भने नेपाल संवत् ११०० को उपलक्ष्यमा नयाँ वर्षको शुभकामना बाँड्दै उपत्यकाको परिक्रमा गरेको थियो । उक्त र्‍यालीलाई स्वागत गर्न उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर नगरको ठाउँठाउँमा ठूल्ठूलो स्वागतद्वार बनाइएको थियो भने टोलटोलमा स्थानीय जनताले अक्षताको रातो टीका लगाइदिँदै फूल, माछा आदि राखी सगुन प्रदान गरिएको थियो । र्‍यालीको अन्तिम गन्तव्य थिमि नगर थियो र उल्लेखनीय कुरा के थियो भने थिमि नगरमा गरिएको स्वागत अरु तीन नगरमा गरिएको स्वागतभन्दा भिन्दै र मौलिक किसिमको थियो । भक्तपुरको परिक्रमा गरी फर्केको र्‍याली निकोसेरासम्म आइपुग्नासाथ त्यहाँ स्वागतार्थ पर्खिबसेका बाजाटोलीले अनेक किसिमका परम्परागत बाजा बजाएर वातावरण एकदमै गुञ्जायमान बनाइदिएको थियो भने उक्त बाजाटोली अघि लाग्दै र्‍यालीलाई थिमिको पुरानो वस्तीमा प्रवेश गराइएको थियो । त्यहाँ टोलैपिच्छे भव्य कलात्मक र आ–आफ्नै विशेषताले स्वागतद्वार बनाइएको थियो । मेरो अनुमानमा कम्तिमा ३२ वटा स्वागतद्वार त्यहाँ हुनुपर्छ । बाटोको दुवै छेउमा स्थानीय महिलाहरु हातमा पूजाको थालीमा लावा र अबीर लिएर उभिएको देख्दा लाग्थ्यो त्यतिबेला थिमिको सबै घर खाली गरेर मानिसहरु सडकमा ओइरिएको थियो । र्‍यालीका सहभागीहरुलाई फूलमाला र पुष्पगुच्छा मात्र नभई धानको मासासहित अनेक किसिमका माला लगाइदिंदै स्वागत गरिएको थियो नगरको पुछारमा सगुन दिने, जुस ख्वाउने र अन्तमा मसलाको पोको र पानसमेत दिई र्‍यालीलाई बिदा गरिएको थियो । साँच्चै भन्ने हो भने यस्तो भव्य स्वागत गरिएको जिन्दगीमै मैले कहिल्यै देखेको थिएन । मेरो लागि त्यो स्वागत अकल्पनीय नै थियो ।

यो कुरा आज म किन सम्झिरहेको छु भने थिमिका जनता वास्तवमै राष्ट्र, राष्ट्रियताको सवालमा निकै संवेदनशील छ । त्योबेला जुन स्वागत गरिएको थियो त्यो व्यक्तिलाई नभइ राष्ट्रिय भावनालाई सम्मान गरिएको थियो र राष्ट्रियताको सवालमा थिमिका जनता एक ढिक्को छ भन्ने कुरा दर्साइएको थियो । हाल आएर नयाँबाटो थिमिलाई शंखधर चोक नामाकरण गरी नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको प्रतिमा निर्माण गरिएको छ । त्यो पनि थिमिका जनताका राष्ट्रिय भावनाका पवित्र प्रतिविम्ब हो । राष्ट्रियताको सवालमा, राष्ट्रिय संस्कृतिको संरक्षणमा थिमि नगरका जनता भूतकालमा जसरी एक ढिक्को भएका थिए, भविष्यमा पनि त्यसरी नै एक ढिक्को भएर देखा परिरहेको छ भन्ने कुरा मलाई विश्वास छ । (फोटो – जिगज्याग फोटो स्टुडियो, लेख – मध्यपुर पाक्षिक)